NRN
राष्ट्रियसभा अध्यक्षसहित २० सांसदकाे कार्यकाल आजबाट सकिँदै

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र २ राज्यमन्त्रीसहित २० सांसदको कार्यकाल आजबाट सकिँदै छ । राष्ट्रिय सभा सदस्यको पदावधि छ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ । 

आज मध्यरातबाट अध्यक्ष तिमिल्सिनासहित पहिलो पटक गोला प्रथाबाट ६ वर्षे कार्यकाल निर्धारण भएका सांसदहरू बिदाइ हुने भएका हुन् ।

कार्यकाल सकिने सांसदहरूमा नेपाली कांग्रेसका अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ र रमेशजङ्ग रायमाझी रहेका छन् भने नेकपा एमालेका इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल, कुमार दसौँदी, नरपति लुवार, भैरव सुन्दर श्रेष्ठ र रामचन्द्र राई छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रबाट विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी बिदा हुँदा जनता समाजवादी पार्टी (जसपा) का प्रमीला कुमारी, नेकपा (एकीकृत समाजवादी) बाट नन्दा चापाई, सिंगबहादुर विश्वकर्मा, खिमलाल देवकोटा र जसपाकी प्रमिला कुमारी पनि राष्ट्रिय सभा सदस्यबाट विदा भएका छन् ।

प्रमिला कुमारी शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री हुन् भने नन्दा चपाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री हुन् । बिदा भएका मध्ये १९ सिटका लागि गत माघ १४ गते निर्वाचन भइसकेको छ । एकजना भने राष्टपतिले मनोनीत गर्नेछन् ।

आज कार्यकाल सकिएकाहरुको विदाइ र नवनिर्वाचित सदस्यहरुको स्वागत हुँदै छ । विदाइ र स्वागतको अनौपचारिक कार्यक्रम बेलुका साढे ६ बजे सिंहदरबार नजिकैको बुटिक होटेल बसेरामा आयोजना गरिएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update