टी-२० सिरिजअन्तर्गत फाइनलमा नेपालले उपाधि जित्न नेदरल्यान्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १८४ रन जोड्यो ।
नेपालका लागि आसिफ शेख ४७, गुल्सन झा ३४, कुशल मल्ल २६, रोहित पौडेल २५ र कुशल भुर्तेल २० रन बनाएर आउट भए । दीपेन्द्रसिंह ऐरीले एक रन मात्र जोड्न सके भने आरिफ शेखले खाता खोल्न सकेनन् ।
पहिलो विकेटका लागि कुशल भुर्तेलसँग २३ रनको साझेदारी गरेका आसिफले दोस्रो विकेटका लागि रोहित पौडेलसँग ५९ र गुल्सन झासँग तेस्रो विकेटका लागि ४३ रनको साझेदारी गरे । गुल्सन र कुशल मल्लबीच पाँचौँ विकेटका लागि ३० रनको साझेदारी भयो । १७ ओभरको समाप्तिमा ४ विकेट गुमाएर एक सय ५८ रन जोडेको नेपालको त्यसपछि १० रनको अन्तरमा ४ विकेट गुमेपछि रनको गति घटेको थियो ।
नेदरल्यान्ड्सका टिम भान डर गुटेन, फ्रेड क्लासेन, माइकल लेविट र साइब्रान्ड इंगलब्रेच्टले २/२ विकेट हात पारे ।