NRN
प्रधानमन्त्री 'प्रचण्ड' ले फागुन ३० गते विश्वासको मत लिने तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले फागुन ३० गते विश्वासको मत लिने तयारी गरेका छन् ।

नेपाली कांग्रेससँगको सत्ता समीकरण फेरेर नेकपा एमालेसहितको गठबन्धनमा सामेल भएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । शनिबार बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री 'प्रचण्ड' ले फागुन ३० गते विश्वासको मत लिने तयारी गरेको जानकारी दिएका थिए ।

उनले सरकारले विश्वासको मत लिने विषयमा सहयात्री दलसँग छलफल गरेर आवश्यक निर्णय लिइने पनि बताएका थिए । कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भएको हो ।

कांग्रेसले मंगलबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । संविधानबमोजिम सरकारमा सहभागी भएको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

यसअनुसार उहाँले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्ने छ। संविधानअनुसार दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने भए पनि प्रधानमन्त्रीलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

प्रधानमन्त्री प्रचण्डले तेस्रोपटक विश्वासको मत लिन लागेका हुन् । उनले यसअघि २०७९ पुस २६ र चैत ६ गते विश्वासको मत लिएका थिए ।​

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update