पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको अहिलेको सरकारमा जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका छन् ।
शितल निवासमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री नवलकिशोर साह (सुडी) लाई आज पद तथा गोपनीयताको सपथ गराएका छन् । यादव बारा क्षेत्र नम्बर २ र साह सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।
यादव उपप्रधानमन्त्री बनेसँगै 'प्रचण्ड' नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ ।
एमालेका रघुवीर महासेठ पहिलो वरीयतामा रहँदा नारायणकाजी श्रेष्ठ, रवि लामिछाने क्रमश: दोस्रो र तेस्रो वरीयतामा छन् भने यादवलाई अन्तिम वरीयतामा राखिएको छ ।
शीतल निवासमा आयोजित शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
गत सोमबार नेपाली कांग्रेससँगको सहकार्य तोड्दै प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरण बनाएका थिए । सरकारमा एमाले, माओवादी, रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादी सामेल छन् ।