राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए ।
राष्ट्रियसभाको अन्तरिम कार्यविधि २०७४ को दफा ६ को उपदफा ३ बमोजिम उनलाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरिएको हो ।
दाहाल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार थिए । उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए ।
त्यसअघि, कांग्रेस र लोसपाका तर्फबाट उम्मेदवार रहेका युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
राष्ट्रिय सभाको अध्यक्षका लागि भएको मतदानमा राष्ट्रिय जनमोर्चाले मतदानमा भाग लिएन ।
राष्ट्रिय सभाका तत्कालीन अध्यक्ष गणेश तिमिल्सिना ६ वर्षे कार्यकाल पूरा गरेर २० फागुनदेखि बिदा भइसकेका छन् । त्यसपछि नयाँ अध्यक्षकाे निर्वाचन भएकाे हाे ।