NRN
प्रधानमन्त्री ‘प्रचण्ड’ ले पाए तेस्रो पटक विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले बुधबार प्रतिनिधि सभामा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १५७ सांसदले समर्थन गरेका हुन् । उनलाई एमाले, रास्वपा, जसपा, नेकपा एस र नाउपाले समर्थन गरेका छन् । जम्मा २६८ सांसदले भोट हालेका थिए । दाहालको पक्षमा १५७ मत र विपक्षमा ११० मत परेको छ । 

प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिएका हुन् । उक्त धारामा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान छ । 

गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेपछि नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी सहितका दलको नयाँ समीकरण बनेको थियो । सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले सदनबाट विश्वासको मत लिएका हुन् ।

योसहित प्रधानमन्त्री दाहालले ले तेस्रो पटक विश्वासको मत लिएका हुन् । २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले त्यही २६ गते विश्वासका मत लिएका थिए । 

२०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरबदल भयो । चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए ।

 

 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update