नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दैछ । फिफा विश्व कप र एसियन कप संयुक्त छनोट अन्तर्गत बहराईन विरुद्ध हुने खेलको तयारीका लागि नेपालले मलेसियासँग खेल्न लागेको हो ।
खेल शाह आलमस्थित यूनिभर्सिटी टेक्नोलोजी मारा स्टेडियममा नेपाली समय अनुसार बेलुका ७ः४५ बजे हुनेछ । नेपाली टोली मैत्रीपूर्ण खेलका लागि बुधबार नै मलेसिया पुगिसकेको छ । मलेसियासँग खेलेपछि नेपाली टोली उतैबाट बहराइन जानेछ ।
नेपाल र बहराइनबीच यही चैत ८ र १३ गते बहराइनमै खेल हुनेछ । होम एण्ड अवेका आधारमा छनोटका खेलहरु हुने गरेपनि दशरथ रंगशाला खेल खेलाउन लायक नभएपछि नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल पनि बहराइनमा हुन लागेको हो ।
नेपाली टोली
गोलकिपरमा किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार, डिफेन्डरमा अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई (सन्जित), सुमित श्रेष्ठ, मिडफिल्डरमा भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई, फरवार्डमा अन्जन विष्ट, दीनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ, सन्जिव विष्ट, जिलेस्पी जंग कार्की रहेका छन् ।