नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ ।
शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरुले उठेर विरोध गरे । बैठकमा बोल्दै सांसद प्रदीप पौडेलले नैतिकताको आधारमा लामिछानेले राजीनामा दिनुपर्ने बताए ।
उनले भने -‘अहिलेको गृहमन्त्रीले विगतमा प्रश्न गर्ने पेशा अपनाउनु भएको थियो । उहाँ प्रश्न गर्ने पेशाबाट आउनुभएको हो । राजनीतिमा प्रश्न गर्न मात्रै पाउनुपर्छ । आफ्ना बिरुद्ध प्रश्नहरु उठाउन मिल्दैन । प्रश्नहरुलाई निषेध गर्न पाउनुपर्छ भन्न मिल्दैन । आफूमाथि प्रश्न बोकेर उहाँ गृहमन्त्री हुनुहुँदैन थियो । अनुसन्धानको घेराभित्र रहेको व्यक्ति सरकारको मुख्य पदमा रहँदा सहकारी पीडितहरुको माग कसरी पूरा हुन्छ ? म प्रश्न गर्न चाहन्छु । पीडितहरुको विश्वास जित्न नसकेको सरकारले वित्तिय संकटलाई कसरी समाधान गर्नसक्छ ? पीडितहरुले आन्दोलनबाट सिर्जना गर्ने अस्तव्यस्ततालाई उसले कसरी थेग्न सक्छ ? म आग्रह गर्न चाहन्छु मेरो मित्र माननीय गृहमन्त्रीज्युलाई उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहरण प्रश्तुत गर्नुस् ।’