उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री लामिछानेले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँबर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई निर्देशन दिएका हुन् ।
गृहमन्त्री लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरु गर्न समेत निर्देशन दिएका छन् ।
सरकारले सुनको तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरेर तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियाे । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुनको तस्करी नियन्त्रण आयोगको प्रतिवेदन अध्ययन गरेर कार्यान्वयनको प्रक्रियामा लैजाने निर्णय गरेको हो ।
आयोगले बिहीबार मात्रै सो प्रकरणमा जाँचबुझ गरी गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । गृहमन्त्री लामिछानले शुक्रबार विहानै सो प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका थिए ।