NRN
कोशी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा विन्दिया कार्की र रिक्त सदस्यमा खड्का र राई नियुक्त

कोशी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा विन्दिया कार्की नियुक्त भएकी छन् । कार्की पूर्वप्रदेशसभा सदस्य हुन् ।‌

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसांसद कार्कीलाई प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो । यसैगरी, विकास बोर्डको सदस्यमा भने मदन खड्का र गौरीमान राई नियुक्त भएका छन् ।

२०७८ साल चैत २२ गते प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा जिना कार्की नियुक्त भएकी थिइन् । अमेरिका गएपछि उनले तीन महिनाअघि जिम्मेवारीबाट राजीनामा दिएकी थिइन् । जिनाको राजीनामापछि रिक्त रहेको पदमा मुख्यमन्त्री केदार कार्कीले विन्दियालाई नियुक्त गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकले प्रदेश सरकारले २०८१ सालमा दिने ५ वटा सार्वजनिक बिदा पनि स्वीकृत गरेको छ ।

उक्त बैठकले प्रत्येक जिल्लाका उत्कृष्ट महिला उद्यमीलाई सम्मान गर्ने निर्णय समेत गरेको छ । १४ वटै जिल्लाका १÷१ जना उत्कृष्ट महिला उद्यमीलाई पुरस्कृत गर्ने निर्णय भएको साथै आर्थिक मामिला तथा योजना मन्त्रालयको वित्तीय समानीकरण अनुदान निर्धारण गरी बाँडफाँट गर्ने, बेरुजु न्यूनीकरण तथा फर्छ्यौटसम्बन्धी कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री प्रदीप सुनुवारले बताए । 

बैठकले प्रदेशसभाका दुईजना सदस्यलाई कूटनीतिक राहदानीका लागि सिफारिस गर्ने, संघीय सरकारको सहमतिमा प्रदेश सरकारबाट प्रहरी चौकीहरू निर्माणका लागि बजेट दिने स्वीकृति प्रदान गरेको छ ।
 
 

 

 

 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update