पूर्वसभामुख कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा भएका छन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको सहमतिमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई हाजिर जमानी छाड्ने निर्णय गरेको हो । महराको स्वास्थ्य अवस्थालाई कारण देखाउँदै हाजिरी जमानी छाडिएको सिआइबीले जनाएको छ।
गत साउन २ गते ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग नाम जोडिएको आरोपमा महरालाई प्रहरीले चैत ५ मा पक्राउ गरेको थियो।
पक्राउ परेपछि महराले सरकारी वकिलको कार्यालयमा बयान दिँदै सुन तस्करी मुद्दामा आफ्नो संलग्नता नरहेको दोहोर्याएका छन् ।
सिआइबी र सरकारी वकिलको कार्यालयले सुन तस्करी प्रकरणमा महराको संलग्नताबारे बयान लिने निष्कर्ष निकाल्दै महरालाई रिहा गर्ने निर्णय गरेको हो ।