NRN
आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली होली मनाइँदै

फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । 

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । 

सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ ।

काठमाडौँ उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा होली खेल्ने गरिन्छ । नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन् ।

फागु पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । यस वर्ष तराईमा सोमबार होली मनाइँदै छ ।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update