NRN
विशेष अदालतले बोलायो मेलम्चीका पूर्वठेकेदार र परामर्शतालाई बयानका लागि

विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाको पूर्व ठेकेदार इटालियन कम्पनी सीएमसी रेभेना र परामर्शदाता इप्टिसालाई बयानका लागि बोलाएको छ ।

 बाटोको हदम्यादबाहेक १५ दिनभित्र बयानका लागि अदालतमा हाजिर हुन कम्पनीका प्रतिनिधिहरुलाई बोलाएको हो ।

गत ६ फागुनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको दाबी गर्दै खानेपानी मन्त्रालयका तत्कालीन ३ सचिवसहित १५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । परामर्शदाता र निर्माण कम्पनी विरुद्ध पनि मुद्दा दायर भएको थियो ।

विशेष अदालतले ठेकेदार सीएमसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोमामो पाउलेट्टी,  परामर्शदाता इप्टिसाका सीईओ यिरान मेई र ईप्टिसासँग संयुक्त उपक्रममा रहेको बीईटीएसका प्रबन्ध निर्देशक अब्दुस साहबुरलाई बयानमा बोलाएको छ ।

अख्तियारले निर्माण कम्पनी सीएमसी रेभेना विरुद्ध ६५ करोड १४ लाख रुपैयाँ विगो मागदावी गरेको छ । परामर्शदाता कम्पनी इप्टिसा र बीईटीएस जेभीका डेपुटी टिम लिडर शिवकुमार शर्माविरुद्ध ४८ करोड ३६ लाख रुपैयाँ बिगो मागदावी गरेको छ । त्यही कम्पनीविरुद्ध ८७ करोड ५८ लाख रुपैयाँ बिगो माग दावी गर्दै मुद्दा विशेष अदालतमा विचाराधीन छ । 

सरकारले ३१ असार, २०७० मा तीन वर्षभित्र काम सम्पन्न गर्ने भनी इटालियन कम्पनी सीएमसीसँग मेलम्ची आयोजनाको काम १०९५ दिनभित्र सक्न ठेक्का सम्झौता गरेको थियो । ७ अर्ब ७२ करोड रुपैयाँमा ठेक्का लिएको उक्त कम्पनीले २०७५ मंसिर २९ गते बीचैमा काम छाडेर फिर्ता भएको थियो । 

भ्रष्टाचार मुद्दामा काठमाडौं महानगरपालिकाका तत्कालीन कार्यकारी अधिकृतको हैसियतमा बोर्ड सदस्य बनेका रुद्रसिंह तामाङ , बोर्डका सदस्य चन्द्रबहादुर थापासहित मेलम्ची खानेपानी आयोजना विकास समितिका तत्कालीन कार्यकारी निर्देशकहरु घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेल पनि तानिएका छन् ।

मेलम्ची खानेपानी विकास समितिका लेखा उपसचिवहरु मणिभद्र न्यौपाने, बेगनाथ पौडेल, लेखा अधिकृत रामचन्द्र न्यौपाने र  लेखा उपसचिव केदारप्रसाद अर्यालसहित मेलम्चीका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर तथा उपकार्यकारी निर्देशक भोजबिक्रम थापाविरुद्ध पनि भ्रष्टाचारको मुद्दा चलेको छ ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update