पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ नेपालसँग ६ विकेटले पराजित भएकाे छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको हो ।
जितको लागि १२२ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा ओपनर कुशल भुर्तेलले सर्वाधिक ३७ रन जोडे । ३७ रनमा ३ विकेट गुमाएको नेपाललाई कुशलले सन्दीप जोरासँग मिलेर ५४ रनको साझेदारी गरेका थिए । सन्दीप ३६ रनमा बनाए । दीपेन्द्रसिंह ऐरी २० रनमा अविजित रहँदा आसिफ शेख १६, गुल्सन झा ४ र कप्तान रोहित पौडेल शुन्य रनमा आउट भए ।
बलिङमा आयरल्यान्डका ग्यारेथ डेल्नीले २, बेन व्हाइट र टम मेयसले एकएक विकेट लिए ।
यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रनमा जोडेको थियो ।
आयरल्यान्डका स्टेफन डोहेनीले सर्वाधिक ४६, टम मेयस र लियाम मकार्थीले १६–१६ र फिओन ह्यान्डले ११ रनको योगदान दिएका थिए । बलिङमा नेपालका कुशल भुर्तेल, ललित राजवंशी र गुल्सन झाले दुईदुई, करण केसी र कुशल मल्लले एकएक विकेट लिए ।
दोस्रो खेल मंगलबार हुनेछ । त्यसपछि आयरल्यान्ड ‘ए’ ले नेपाल ए सँग समान तीन टी२० र एकदिवसीय अभ्यास खेल खेल्नेछ ।