NRN
उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न त्रिभुवन विश्वविद्यालयले गर्याे उच्चस्तरीय छानबिन समिति गठन

स्नातक तह प्रथम वर्षको २०८० वैशाखमा लिइएका दुई विषयका परीक्षाका उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न त्रिभुवन विश्वविद्यालयले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । त्रिविका पूर्वरजिस्ट्रार प्रा.डा. चन्द्रमणि पौडेलको नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको त्रिवि रजिस्ट्रारको कार्यालयले जनाएको छ ।

त्रिवि कार्यकारी परिषदको बिहीबारको बैठकले उत्तरपुस्तिका हराएको विषयमा विस्तृत छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।

गत वैशाखमा भएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत जनसंख्या तथा स्वास्थ्य विषय (कोड नं. ४२२ ) र शिक्षाशास्त्र संकाय तर्फको शिक्षाको आधार विषय ( कोड नं. ४१२ ) का उत्तरपुस्तिकाहरू हराएको थियो ।

विद्यार्थीका उत्तरपुस्तिका हराएको विषयमा सञ्चार माध्यमहरूमा खबर प्रकाशित भएको थियो। त्रिविले उत्तरपुस्तिका हराएको सन्दर्भमा विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशित/प्रसारित समाचार तथा सम्पादकीय र जनमानसमा उत्पन्न चासो र चिन्ताप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ।

त्रिविले उत्तरपुस्तिका हराएका दुई विषयको परीक्षा यही चैत २१ गते गर्ने तयारी गरेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update