नेपाली बजारमा आज पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।
लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यसअघि सोमबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य पछिल्लो रेकर्डभन्दा एक हजार आठ सय रूपैयाँ बढेको हो ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३१ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३० हजार पाँच सय ५० रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३३ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३२ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।
मंगलबार प्रतितोला एक हजार पाँच सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार छ सय १० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रूपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २२ सय ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।