लुम्बिनीमा माओवादी केन्द्रका जोखबहादुर महरा मुख्यमन्त्री बन्ने भएका छन् । केन्द्रको सहमति अनुसार माओवादीको भागमा परेको लुम्बिनी प्रदेशमा महरा नेतृत्वको सरकार बन्ने भएको हो ।
महरालाई समर्थन गर्दै एक स्वतन्त्रसहित ४४ जना सांसदले हस्ताक्षर गरेका छन् । जसमा नेकपा एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र १ जना स्वतन्त्र प्रदेश सभा सदस्यले महराको पक्षमा हस्ताक्षर गरेका छन् । नेकपा एमालेका संसदीय दलका नेता लीला गिरी, प्रमुख सचेतक तुल्सी चौधरी, एकीकृत समाजवादीकी भगवती घिमिरेसहित पुगेका महराले प्रदेश प्रमुख शेरचन समक्ष दाबी पेश गरेका हुन् ।
बिहीबार डिल्लीबहादुर चौधरीले मुख्यमन्त्री पदबाट राजीनामा दिएर इमेलमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा पठाएपछि नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढेको हो ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश मन्त्रिपरिषद् गठन प्रक्रिया सुरू भएको हो ।
प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान छ ।