आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय; भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय; सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित दफाहरूका सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै, बिहान ११ बजे नै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बस्दैछ । सो बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सदस्यहरुसँग छलफल हुनेछ ।
त्यसैगरी, मध्यान्ह १२ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको वर्तमान अवस्था र अनुगमन सम्बन्धमा छलफल हुनेछ भने मध्यान्ह साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उपसमिति गठन सम्बन्धमा छलफल हुनेछ ।
दिउँसो साढे १ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । बैठकमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४१ मा व्यवस्था भए बमोजिमको उपभोक्ता अदालत गठनका सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीसँग छलफल हुनेछ ।