नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्दा चाँदीको मूल्य भने स्थिर रहेको छ ।
लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो । गत आइतबारदेखि लगातार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा एक सय रूपैयाँ बढी हो ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, सोमबार प्रतितोला एक हजार ६ सय ८५ रूपैयाँ पुगेको चाँदी यस दिन सोही मूल्यमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।