नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल हुँदा चाँदीको मूल्य पनि बढेको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार छ सय ५० रूपैयाँमा कारोबार भएको सुन नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा पाँच सय रूपैयाँ बढी हो ।
त्यस्तै, आइतबार प्रतितोला एक हजार ६ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी यस दिन प्रतितोला एक हजार सात सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।