NRN
शासनमा दलालतन्त्रको प्रभाव ।

राजनीति र कर्मचारीतन्त्रको सेतु नीति हो । नीति राजनीतिको घोषणा हो । यो घोषणा शासनमा देखिन्छ । देखिनुपर्छ । तब मात्र नीतिमा राजनीतिको पकड हुन्छ । नीति कसरी बन्छ भन्ने सैद्धान्तिक र व्यवहारिक तन्त्र र संयन्त्र छन् । नीतिभित्रको दृढता र योग्यता राजनीतिमा भएन भने नीतिभित्र स्वार्थ प्रवेश गर्छ । यहीबाट दलाल तन्त्र जन्मन्छ ।नीतिभित्रको स्वार्थ सबै दलालतन्त्र होइन । तर जब राजनीति र कर्मचारीतन्त्र कमजोर बन्छ त्यसपछि नीतिको पकड यी दुवैसँग रहँदैन । र तेस्रो पक्ष शासनमा प्रभावी बन्छ । अहिले नेपालको अवस्था ठ्याक्कै त्यस्तै छ । ठूलाठूला निर्णय हुन्छन् । निर्णयको नतिजा राजनीति र कर्मचारी तन्त्रले अनुमान गर्न समेत सक्दैनन र पछि मैले यो गरेकै होइन वा मलाई यो थाहा नै थिएन भन्ने भास्य तयार हुन्छ । यो भाष्यबाट निर्णयकर्ता नीतिगत रूपमा उम्कन सक्दैन । अहिलेको टेरामेक्स, वाइडबडी लगायतका ठूला ठूला निर्णयमा राजनीति र कर्मचारी मात्र जिम्मेवार छैनन् । तेस्रो पक्ष उन्मुक्त छ ।

अहिले मन्त्रालयहरूमा निर्णय प्रक्रिया नै अनिर्णित छ । किनकि निर्णयको उत्तरदायित्व कसले लिने अन्योलता छ । यसको अर्थ राजनीतिभित्र नीतिको पकड छैन भन्ने बुझिन्छ । घर जग्गा नीति राजस्व छुट, ठूला ठेक्कापट्टा, नियुक्ति कहाँ र कसको इच्छामा हुन्छ निर्णयकर्ता अन्योलमा छ । तर निर्णय गर्नुपर्छ । यसमा राजनीतिको स्पष्ट धारणा र अडान नहुँदा क्रमश यस्ता मुद्दामा तेस्रो पक्षको स्वार्थ प्रष्ट देखिन्छ । देखिएको छ ।यो तेस्रो पक्ष को हो ? अनुभूति हुन्छ तर ठम्याउन मुस्किल पर्छ । निर्णयकर्तालाई नीति र निर्णयको नतिजा जनतासम्म पुग्छ भन्नेमा विश्वास छैन । जनताको सहभागितामा नीति बन्दैनन्..। नीति निश्चित समूहको स्वार्थमा बन्छन् । त्यो समूहले सामूहिक स्वार्थको प्रतिनिधित्व गर्दैन र बेलाबेलामा निर्णयहरु अख्तियारको ढोकासम्म पुग्छन् । अहिलेका भ्रष्टाचार मुद्दामा निवर्तमान र वर्तमान उच्च पदस्थहरू यही तेस्रो पक्षको चङ्गुलमा परेको प्रष्ट देखिन्छ । यसमा पदाधिकारीहरूको खराब नियत छैन भन्न सकिँदैन । तर खराब निर्णयमा नाइ भन्न नसक्दा यो कर्म भोग्नुपर्छ । यो निम्त्याएको कर्म हो । प्रायाेजित काम गर्नु त दलाल तन्त्रको विशेषता नै हो ।

नेपालमा मात्र होइन विश्व राजनीतिमा दलालतन्त्र राजनीति र कर्मचारीतन्त्र भन्दा माथि छ । औद्योगिक क्रान्तिको झन्डै ४०० वर्ष अगाडि सम्म मर्कन्टाइल नीतिबाट व्यापार भयो । त्यतिखेर राजनीति र शासनभन्दा व्यापारीमाथि थिय । व्यापारी र उद्योगपतिले राजा र नेतालाई प्रभाव पार्थे । यो प्रभावलाइ सत्रौँ शताब्दी पछिको पुँजीवादले झन उत्कर्षमा पुर्‍यायो । अहिले जुनसुकै देशका सरकार र नेतृत्व डिलरसिपबाट चल्ने गर्छन्। यहाँ मानवीयता ,सत्य र जनमुखी नीतिहरू ओझेलमा छन् । जति देखिन्छन् त्यो लोकतन्त्र र सुशासनको रुपमा जनतामा प्रकट हुन्छन् । तर यथार्थमा यसैभित्र विश्वमा आतंकवाद जन्मिँदैछ । अहिले विश्व राजनीतिमै लोकतान्त्रिक तानाशाह हरूको जन्म हुँदैछ । यिनीहरूले यही दलाल तन्त्रको आडमा शासन गरेको सर्वसाधारणले पत्तै पाउँदैनन् । किनकि उनीहरुसँग प्रविधि ,पुजी र विचार छ । राजनीति र कर्मचारीतन्त्र पद प्रतिष्ठा र पैसामा अल्झिएको छ । जसको पूर्ण सहयोग मध्यस्त वर्ग, निजी क्षेत्र वा दलाल तन्त्रमा छ । यसको प्रभाव नेपालमा नहुने कुरै भएन । अहिले त काे कसको पक्षधर र गुप्तचर हो भन्ने कुरा परिवारभित्रै थाहा हुँदैन । राजनीति र कर्मचारीतन्त्रको त परको कुरा हो ।

नेपालमा भ्रष्टाचार बढ्नुको कारण यही हो । सिंहदरबारदेखि मालपोत कार्यालयको प्राङ्गणसम्म जनताको हातमा निर्णय प्रक्रिया छैन । कानुनको शासनले काम गरेको छैन । किनकि कानुनभित्र दलाल हरूको स्वार्थ पूरा हुँदैन । त्यसैले खोजीखोजी कानुनको उल्लङ्घन भएका उदाहरण थुप्रै छन् । उच्च कर्मचारी नेतृत्व दबाबमा काम गर्न रुचाउँदैन । तर प्रभावबाट उन्मुक्त छैन । यो वर्गको वृत्ति विकास, अवसर ,प्रतिष्ठा वा पैसाकाे स्वार्थ कसरी पूरा गर्नुपर्छ भन्ने कुरा मध्यस्थकर्तालाई थाहा छ । अहिले राजनीति, कर्मचारीतन्त्र र डिलरसिप बराबरी शक्तिमा छन् । यथार्थमा डिलरसिप राजनीति र कर्मचारीतन्त्रमाथि हावी छ । यो प्रभावबाट मुक्त नहुन्जेल भ्रष्टाचार घट्दैन । अझ ठूलोठूला काण्डहरु दोहोरिन्छन् । बैंक, वित्तीय संस्था, सहकारी, सरकारी सम्पत्ति सबैमा यिनैको पकड छ । यिनैको आशयमा नीति बन्छन् । निर्णय बन्छन् । यस्ता निर्णय प्रक्रियामा हुन्न नभनुन्जेल निर्णयमा मध्यस्तकर्ता शक्तिशाली बनिरहन्छन् । यसको कारण अरु कोही होइन । स्वयं निर्णयकर्ता हुन् ।

दलाल तन्त्र मध्यस्थकर्ताको विकृत रूप हो । शासनमा यो वर्ग चाहिन्छ । तर यसले विशेषज्ञता, पुँजीको प्रवाह ,कानुनको शासनको निगरानीमा नतिजाको खोजी गर्नुपर्छ । अमेरिका र युरोपका देशहरूमा ठूला पुँजीपति वर्ग शासनमा बौद्धिक वर्गको रुपमा ठहरिन्छन् । उद्योग, व्यापार ,उत्पादन र वितरणमा सरकारलाई बौद्धिक र व्यापारिक सहयोग गर्छन् । त्यसैले त्यहाँ दलालतन्त्रको विकृति जनतासम्म देखिँदैन । तर शासनमा पहुँच बिना यिनीहरू बाँच्न सक्दैनन् । यो अस्वभाविक पनि होइन । नेपाल जस्तो देशमा ठूला निर्णय, नीति, उद्योग, व्यापार, सरकारी सम्पत्ति र वितरण प्रणालीमा दलालतन्त्रको स्वार्थपूर्ण प्रभाव छ । यो प्रभावलाईबाट मुक्त हुन राजनीति र कर्मचारी तन्त्र स्वार्थबाट मुक्त हुनुपर्छ । आफ्नो आफ्नो कार्यक्षेत्रमा विज्ञता र स्पष्टता हुनुपर्छ । अहिलेको डरलाग्दो मन्दि र शासनको क्षयीकरणबाट बच्न राजनीति, कर्मचारी तन्त्र र तिनैको उत्पादनमूलक सहयोग हुन जरुरी छ । नत्र जनता सधैंभरि दर्शकको रुपमा मात्र रहन्छन । शासनमा निर्णायक हुन सक्दैनन् । 

(लेखक तथा सहसचिव कुमार दाहालकाे फेसबुकबाट साभार...............)

 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update