प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपाली कांग्रेसले वर्तमान गठबन्धन तोड्न सकिन्छ कि भनेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएको आरोप लगाएका छन् ।
आज बिहान विराटनगर विमानस्थलमा विराटनगरमा पत्रकारसँग कुराकानी गर्दै उनले उक्त कुरा बताएका हुन् ।
उनले कांग्रेसको माग राजनीतिक आग्रह पूर्वाग्रहबाट प्रेरित भएको भन्दै संसदीय छानबिन समिति नबन्ने बताए । ‘अहिले रवि लामिछानेलाई नै लिएर जसरी समितिको माग भएको छ, त्यो मिल्ने कुरा छैन,’ समिति रविलाई भनेर बन्दैन, त्यो बन्न सक्दैन ।’
नेपाली कांग्रेसले यसलाई राजनीतिक इस्यु बनाएको आरोप लगाउँदै प्रधानमन्त्री प्रचण्डले यसको समाधान राजनीतिक समझदारीबाटै गर्नुपर्ने बताए । ‘रवि लामिछानेको केस अलग्गै र सहकारीको समस्या अलग गरेर छलफल गर्यो भने समाधान निस्किन पनि सक्छ भन्ने तिर गइराख्या छ र हाम्रो कोसिस पनि त्यतै छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
प्रधानमन्त्री प्रचण्डले ६ चैतको प्रतिनिधि सभा बैठकमा सहकारीको रकम अपचलनमा रवि लामिछाने संलग्न नभएको प्रहरीको ब्रिफिङ रहेको बताएका थिए । तर विपक्षीहरुले यसमा चित्त नबुझाएको भन्दै उनले सहकारी संस्थासँग सम्बन्धित इस्यु भन्दा पनि राजनीतिक इस्यु बढी बनाइएको बताए ।
‘रवि लामिछानेको केस अहिले समीकरण बदलिएपछिको केस होइन । उनले भने रविमाथि प्रश्न कांग्रेस सरकारमै हुँदादेखि नै उठेको थियो । त्यति बेला कांग्रेसलाई कुनै समिति गठन गर्नु परेन । हालै राज्यका निकायहरूले छानबिन गरेर निर्दोष छ भनेपछि फेरि संसदीय छानबिन समिति गठन गर्नुपर्छ भन्नु राजनीतिक पूर्वाग्रह हो ।
कांग्रेससँगको गठबन्धन तोडेर एमाले र रास्वपासँग नयाँ समीकरण बनेपछि यो विषयलाई बढी उछालिएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले अहिलेको गठबन्धन तोड्ने कोसिस समेत भइरहेको जिकीर गरे ।
कांग्रेसले पहिलो प्रयास रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन गरेको र त्यो प्रयास सफल नभएपछि सहकारीको विषय उठाएको आरोप लगाए ।
यो गठबन्धन तोड्न कोसिस भयो ? भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले भने, ‘हो, तर यो टुट्दैन ।’