- राजन घिमिरे, सिड्नी
अन्तत: अस्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले बिना अक्सिजन विश्वका १०औँ अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छन् ।
पेपरले उनका गाईड मिकेल शेर्पा र निमा शेर्पाका साथमा आइतबार दिउँसो १२ बजेर ७ मिनेटमा अन्नपूर्ण–१ हिमालमा पाइला टेकेकी जानकारी दिइन् । पेपरले अन्नपूर्ण–१ को चुचुरोबाट देखिएको दृश्यको बारेमा सुनाइन् ।
यसअघि उनले विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरू मध्ये दुई वटा हिमालको अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरी सकेकी छन् । सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२ औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) र विश्वको पाँचौँ अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) को सन् २०२३ को सेप्टेम्बर २८ तारिखका अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरी सकेकी छन् ।
सिड्नीकी पर्वतारोही पेपरले सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२ औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) को बिना अक्सिजन सफल आरोहण गरी पहिलो अस्ट्रेलियाली महिला बनेकी थिइन ।
उनले यसपछि कञ्चनजङ्घा हिमालको आरोहण गर्ने योजनामा छिन् त्यसपछि मकालु हिमालको आरोहण गर्ने लक्ष्य रहेको छ ।
बिस्तारै एकपछि अर्को आठ हजार मिटर अग्लो हिमालहरू आरोहण गर्दै जाने र आफूले तोकेको समयभित्र नै १४ वटै हिमालहरूको चुचुरो सम्म पाइला टेक्ने पेपरको भनाइ छ । दुई वर्ष भित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरू आरोहण गर्ने लक्ष्य लिएकी पेपरको आफ्नै आरोहण शैलीका कारण उनले लक्ष्य राखेको समयमै हासिल गर्ने कुरामा विश्वस्त छिन् ।
४८ वर्षीया पेपरले चुनौतीहरूको सामना गरिरहेका महिलाहरूलाई विभिन्न चुनौतीहरू पार गर्दै त्यसबाट जित्न प्रोत्साहित गर्ने लक्ष्य राखेको बताइन् ।