मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथोपटक विश्वासको मत लिन लागेका छन् । मधेश सरकारबाट निकालिएको कांग्रेसले चैत ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासका मत लिन लागेका हुन् ।
प्रदेशसभाको मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
२७ पुस २०७९ मा मुख्यमन्त्री नियुक्त भएका जसपा संसदीय दलका नेता यादवले १५ महिनाको अन्तरालमा चौथो पटक विश्वासको मत लिन लागेका हुन् । यसअघि उनले मुख्यमन्त्री बन्दा, एमालेले र जनमतले समर्थन फिर्ता लिंदा तीनपटक विश्वासको मत लिएका थिए ।
प्रदेश सभामा हाल एमालेका २५ , जसपाका १९, लोसपाका ९, माओवादीका ९ र नेकपा एसका ७ सांसद छन् । प्रतिपक्षमा रहेका कांग्रेसका २२, जनमत पार्टीका १३ तथा नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका १/१ सांसद छन् ।
मधेश प्रदेशसभामा कुल १०७ सांसद छन् । मधेशमा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।