NRN
एसीसी प्रिमियर कपमा नेपालले आज साउदी अरेबियासँग खेल्दै

नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपको अन्तिम खेलमा आज साउदी अरेबियासँग खेल्दैछ । अल अमरेत क्रिकेट ग्राउन्ड-२ मा खेल मध्यहान्न ११ : ४५ मा सुरुहुनेछ ।

नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगी सकेको छ । त्यसैले आजको खेल नेपाललाई प्रतिष्ठाका लागि मात्रै हुनेछ । साउदी अरेबिया ३ खेलमा २ मा हार र एकमा जितसहित २ अंकका साथ तेस्रो स्थानमा छ ।

नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो । साउदीले हङकङविरुद्ध २०२ रन बनाउँदै ५५ रनको जित हात पारेको थियो । मलेसियासँग १२ रन र कतारसँग १५ रनले हारेको थियो ।

नेपालले टी-२० आईमा साउदी अरेबियासँग पहिलो पटक खेल्दैछ ।

नेपालले सेमिफाइनलमा यूएईसँग खेल्ने सम्भावना छ । समूह बी मा ओमान ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । कुवेत ३ खेलमध्ये २ मा जित र एउटामा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । यूएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ ।

बहराइन ३ खेल र कम्बोडिया २ खेलमा अंक विहीन हुँदै पुछारमा छन् ।

आज ओमानले कुवेत र यूएईले कम्बोडियासँग खेल्दैछन् । ओमान र यूएई दुवै सहज रुपमा विजयी हुने सम्भावना छ । त्यसैले नेपाल र यूएई सेमिफाइनलमा भिड्ने समीकरण देखिन्छ ।

नेपाल समूह ए मा ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । कतार ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । साउदी ३ खेलमा १ मा जित र २ मा हारसहित २ अंकका साथ तेस्रो स्थानमा छ । मलेसिया र हङकङ पनि समान ३ खेलमा १ मा जित र २ मा हारसहित चौथो र पुछारमा छन् ।

आज मलेसिया र हङकङबीच खेल हुँदैछ । ४ अंकका साथ सेमिफाइनल खेल्न दुवै टोलीले फराकिलो जित हात पार्नुपर्छ ।

सेमिफाइनल शुक्रबार, तेस्रो स्थानको लागि शनिबार र फाइनल आइतबार हुनेछ । प्रतियोगिता विजेताले टी-२० एसिया कप खेल्न पाउनेछ ।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update