NRN
एसीसी प्रिमियर कपमा नेपाल ६ विकेटले विजयी

ओमनमा जारी एसीसी प्रिमियर कपमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ । ७४ रनको लक्ष्य पछ्याएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । 

नेपालको जितमा गुलशन झा १९ बलमा २ चौका र २ छक्कासहित ३२ तथा कप्तान रोहित पौडेल ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नट आउट रहे ।

ओपनर कुशल भुर्तेल डक, आसिफ शेख र कुशल मल्ल २(२ रनमा आउट भए । एक समय २.२ ओभरमा १५–३ को अवस्थामा पुगेको नेपाललाई गुलशन झा र दीपेन्द्रसिंह ऐरीले ३३ रनको साझेदारी गरेका थिए । दीपेन्द्र ९ बलमा ३ चौकासहित १७ रनमा आउट भए ।

साउदीका ईश्ताक अहमदले २, उस्मान नाजिव र वाजी उल हसनले १–१ विकेट लिए ।

त्यसअघि अलअमरेत क्रिकेट ग्राउण्ड–२ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साउदीले ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनाएको थियो । मंगलबार राती वर्षाको कारण मैदान समयमै खेल्न तयार नहुँदा खेल ८–८ ओभरको भएको थियो ।

नेपाल समूह ए बाट नेपालको जितले हङकङ उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपालले यसअघि मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो ।

नेपालले शुक्रबार समूह बी को उप-विजेतासँग सेमीफाइनल खेल्नेछ । 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update