NRN
मुम्बईमाथि राजस्थानको शानदार जीत

इन्डियन प्रिमियर लिग (आईपीएल) को ३८ औँ खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ ।

मुम्बईले दिएको १८० रनको लक्ष्य पछाएको राजस्थानले १८.४ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

राजस्थानको जितमा यशस्वी जैसवालले ६० बलमा १०४ रनको शतकीय पारी खेलेका थिए । जसमा उनले ९ चौका र ७ छक्का हिर्काए । उनलाई जोस बट्लरले ३५ रन तथा कप्तान सञ्जु स्यामसनले ३८ रन बनाउँदै साथ दिए ।

मुम्बईका लागि एक्लो विकेट पियुश चावलाले हात पारे ।

यसअघि मुम्बईले टस जितेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १७९ रन बनाएको थियो । 

मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ६५ रन बनाए । त्यस्तै, नेहल वाधेराले ४९ रनको योगदान दिए भने मोहम्मद नाबीले २३ रन बनाए । ट्रेन्ट बोल्टले २ विकेट तथा अभेष खान र युजभेन्द्र चाहलले १–१ विकेट लिए ।

जितसँगै राजस्थान अङ्क तालिकामा शीर्ष स्थानमा उक्लेको छ । ८ खेलमा सातौँ जितसहित टोलीको १४ अङ्क छ । उता, पाँचौँ पराजय बेहोरेको मुम्बई ६ अङ्कसहित सातौँ स्थानमा सीमित छ ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update