नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बीच आज भेटवार्ता हुँदैछ । राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा अल थानी नेपालको दुई दिने राजकीय भ्रमणमा मङगलबार अपराह्न नेपाल आइपुगेका हुन् ।
हिजो नेपाल आएका उनले आज प्रधानमन्त्री 'प्रचण्ड' सँग भेटवार्ता गर्न लागेका हुन् ।
भेटवार्ता पछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुनेछ । यी सबै कार्यक्रमहरु राजा थानी बसेकै होटल सोल्टीमा बिहान १० बजेपछि हुनेछन् ।
नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान सम्बन्धी हस्ताक्षर हुने कार्यक्रम छ । यसैगरी शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर गर्ने कार्यक्रम छ ।
होटल सोल्टीको कार्यक्रमपछि प्रधानमन्त्री 'प्रचण्ड' ले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको राजासहितको टोली सहभागी हुनेछ । त्यसपछि कतारी टोली आजै दिउँसो नेपालबाट फर्किने कार्यक्रम छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि कतारका राजा भ्रमण दलका सदस्यहरुसहित मंगलबार काठमाडौं आएका थिए । उनले मंगलबार साँझ नै राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुका साथै शितल निवासमा आयोजित रात्रिभोजमा पनि सहभागी भएका थिए ।