NRN
वेष्ट इन्डिज ‘ए’ माथि नेपालको उत्कृष्ट जीत

नेपालले पहिलो टी २० खेलमा वेष्ट इण्डिज ए लाई ४ विकेटले हराएको छ । त्रिवि मैदान कीर्तिपुरमा जितका लागि २०५ रनको लक्ष्य नेपालले नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो ।  

रोहित पौडेल ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले । नेपाललाई ८ बलमा १३ रन चाहिँदा रोहित म्याथ्यु फर्डको बलमा विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट हुन पुगेका थिए ।

२७ बलमा अर्धशतक पूरा गरेका रोहितले ४७ बलमा शतक हानेका थिए । उनको यो टी-२० करिअरको पहिलो शतक थियो ।

नेपाललाई अन्तिम ६ बलमा जित्नलाई ९ रन चाहिएको थियो । सुरुवाती दुई बलमा ओशान थोमसले प्रतिश जिसी र गुल्सन झालाई एक/एक रन दिएका थिए । तेस्रो बलमा गुल्सनले लङअफमा चौका हानेपछि ३ बलमा ३ रन चाहिएको थियो । उनले नै अर्को बलमा चौका हान्दै खेल जिताए । गुल्सन ९ र प्रतिश ५ रनमा नटआउट रहे ।

ओपनर अनिल शाह ५, कुशल मल्ल र कुशल भुर्तेल १६–१६ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी १८ बलमा २ चौका र १ छक्कासहित २४ र विवेक यादव ७ रनमा आउट भए ।

वेष्ट इण्डिजका ओबेद म्याककोयले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । म्याथ्यु फर्ड २ र किमो पलले १ विकेट लिए ।

नेपाल र वेष्टइण्डिज ए बीचको दोस्रो टी-२० खेल आइतबार हुनेछ ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update