NRN
कोशी प्रदेशकाे मुख्यमन्त्रीमा दाबी पेस गरेका एमाले कार्कीलाई समर्थन गरेका सांसदको हस्ताक्षर सनाखत सुरु

कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका एमाले नेता हिक्मतकुमार कार्कीलाई समर्थन गरेका सांसदको सनाखत सुरु भएको छ । मुख्यमन्त्रको रूपमा समर्थन गरेका ५२ जना कोशी प्रदेश सभा सदस्यहरू सनाखतका लागि प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका छन् ।

सरकार गठनकालागि माओवादीका १३ र एमालेका ३९ जना प्रदेश सभा सदस्यले कार्कीलाई मुख्यमन्त्रीको रूपमा समर्थन गरेका छन् । सनाखत पछि आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी रहेको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको हस्ताक्षरसहित कार्कीले आज बिहान दाबी पेस गरेका थिए । कार्कीले दाबी पेस गरेको एक घण्टापछि प्रदेश प्रमुखले बोलाएर सनाखत सुरु गरेका हुन् ।

२७ असोजमा उपधारा ५ अनुसार नै मुख्यमन्त्री बनेका केदार कार्की २६ चैतमा अल्पमतमा परेका थिए । २५ वैशाखसम्म विश्वासको मत नलिएपछि प्रदेश प्रमुखले २६ वैशाख राति दुई दिनको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेपछि कामचलाउ भएका मुख्यमन्त्री केदार कार्की त्यसविरुद्ध सर्वाेच्च अदालत पुगेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update