कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिंदै छन् ।
२७ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोही दिन मन्त्रिपरिषद् बैठक राखेर प्रदेश सभाको वर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गराएका थिए ।
आइतबार बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा नेपाली कांग्रेसले कोसी सरकारको विवाद सर्वोच्च अदालतमा विचारधीन रहेको कारण देखाउँदै मुख्यमन्त्रीलाई तत्काल विश्वासको मत नलिन आग्रह गरेको थियो ।
तर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले कांग्रेसको प्रस्ताव अस्वीकार गर्दै सोमबार मुख्यमन्त्रीले विश्वास मतको प्रस्ताव पेस गर्ने कार्यसूची राख्नुपर्ने अडान लिएका छन् ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार २७ असोजमा नियुक्त मुख्यमन्त्री केदार कार्कीले साझेदार दलले समर्थन फिर्ता लिएपछि विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुख खापुङले उनी पदमुक्त भएको निष्कर्ष निकालेर २६ वैशाखमा नयाँ सरकार गठन आह्वान गरेका थिए ।
कोशी प्रदेश सभामा ९३ सांसद मध्ये बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ ।