कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । संविधानको धारा १६८ (५) अनुसार गत बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले उपधारा ४ अनुसार आज विश्वासको मत लिएका हुन् ।
मुख्यमन्त्री कार्कीलाई केन्द्रीय सत्ता गठबन्धनमा रहेका सबै दलले विश्वासको मत दिए । प्रदेश सभामा ९३ मध्ये ६२ जना सांसद उपस्थित थिए । ६२ उपस्थित रहेको प्रदेशसभामा नेकपा एमालेका ३९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका तीन र जनता समाजवादी नेपालका एक प्रदेशसभाले मत दिए ।
उनको पक्षमा ५७ मत खस्यो भने विपक्षमा कसैले पनि मतदान गरेनन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मतदान प्रक्रिया नै बहिस्कार गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पाँच सांसद तटस्थ बसे ।
कोशी प्रदेश सरकारको गठनबारे मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा विश्वासको मत लिन लागेकोमा विमति जनाएको कांग्रेसले मतदान प्रक्रिया बहिष्कार गरेको हो । आजै संसदीय दलको बैठक बसेर कांग्रेस यस्तो निधोमा पुगेको हो ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ प्रदेशसभा सदस्यको समर्थनमा बैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।