- राजन घिमिरे
चर्चित हाँस्यव्यंग्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य १० वर्षपछि अस्ट्रेलियाको सिड्नी आउने भएका छन् । मार्कक्यू होम्स र एभरेष्ट ट्राभलले आयोजना गर्न लागेको महाजात्रा जुन २ तारिख साँझ ६ बजे सिड्नीको फिल्म फेस्टिबल हुने स्टेट थिएटरमा आयोजना हुने भएको छ ।
महाजात्राको कार्यक्रम सफल गर्नलाई सिड्नीको इभेन्ट कम्पनी ड्रिम हाइट्सले यसको तयारी थालिसकेको छ । ड्रिम हाइटले सिड्नीमा रहेका नेपाली समाजको चाहना अनुसार कलाकारहरूलाई अस्ट्रेलियामा बोलाएर विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।
'स्तरीय कार्यक्रम र दर्शकको सन्तुष्टि हाम्रो चाहना हो, यसैका लागि पनि यस पटक एक दशकपछि मह जोडीलाई सिड्नी बोलाएर सबैको मुखमा हाँसो ल्याउने प्रयास गरेका हौं,’ एभरेष्ट ट्राभलका कार्यकारी प्रमुख इर्साद अहमदले भने । स्टेट थिएटरमा कमै मात्र नेपाली कार्यक्रम हुने गरेका छन् । ‘यो आफैंमा मह जोडीको लागि ठूलो सम्मान पनि हो, हामीले यसका लागि तयारी अगाडि बढाइसकेका छौं । सिड्नीका नेपाली दर्शकदीर्घाबाट यसमा सहयोग र सदभाव पाउने विश्वास लिएका छौं,’ इर्सादले भने ।
मह जाेडीकाे साथमा कलाकार कुन्ति मोक्तान, नरेन्द्र कंसाकार र ’राता मकै’ किरण केसीले पनि कार्यक्रममा विभिन्न प्रस्तुतीहरू प्रस्तुत गर्ने भएका छन् ।