गौशाला सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा काठमाडौं महानगरले चलायो डोजर
गौशाला चोक सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो ।
गौशालातर्फबाट एयरपाेर्टतर्फ जाने सडक खण्डमा सडक सीमा क्षेत्रभित्र परेका घरहरू भत्काइएको हो । पहिलो दिन ६ वटा घरहरू भत्काइएको छ ।
अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ । डोजर चलाइँदा सवारी आवागमन पनि असहज भएको छ ।
काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक अतिक्रमण गरेर बनाइएका घरहरु भत्काउन ३५ दिन अगाडि सूचित गरेको थियो । १५ दिनदेखि माइकिङ गरेर पनि घर भत्काउन भनेको थियो । तर घर धनीले आफैं नभत्काएपछि महानगरले डोजर चलाएको नगर प्रहरीले बताएकाे छ ।
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१ ११:५१
प्रतिक्रिया दिनुहोस्