नेपाल सुनचाँदी व्यवसायी महासंघले साताकाे पहिलाे दिन अर्थात् आइतबारका लागि सुन-चाँदीको मूल्य सार्वजनिक गरेकाे छ । सार्वजनिक गरेकाे मूल्य अनुसार आज नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।
लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको तुलनामा आज सुनको भाउ प्रतितोला एक हजार छ सय रूपैयाँ बढेको हो ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय १० रूपैयाँ बढेको हो ।
शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।