सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिने निर्णय गरेको विपक्षी मोर्चाले संसदीय समितिको टिओआरमा सहमति नजुटेसम्म प्रतिनिधिसभा बैठक सञ्चालन नगर्न आग्रह गरेको छ ।
नयाँ बानेश्वरमा बसेका कांग्रेससहितको विपक्षी मोर्चाको बैठक निर्णय सुनाउन सभामुखको कार्यकक्षमा पुगेका राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यस्तो आग्रह गरेका हुन् ।
संसदीय छानबिन समितिको टिओआरमा सहमति जुटाउन कार्यदलको बैठक सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसिरहेको छ । विपक्षी मोर्चाको बैठक सकेर कांग्रेस नेता रमेश लेखक पनि कार्यदलको बैठकमा पुगेका छन् । यसअघि ज्ञानेन्द्र कार्की पनि कार्यदल बैठकमा थपिएका थिए ।
सिंहदरबारमा आइतबार जारी बैठकमा दलहरुले समितिको कार्यक्षेत्रका विषयमा सहमति जुटाउन नसक्दा प्रतिनिधि सभाको बैठक नै अनिश्चित बनेको छ ।