प्रतिनिधिसभाको बैठक २ बजेलाई सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक संसदीय छानबिन समिति बनाउने विषयमा दलहरूबिच सहमति हुन नसकेपछि १२ बजे सूचना जारी गरेर २ बजेलाई सारिएको हो ।
संसदीय समितिको कार्यादेश टुंग्याउन कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, नेपाली कांग्रेसका सांसद जीवन परियार, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहेको कार्यदलको बैठक बसिरहेको छ ।
उक्त समितिले संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमति जुटाएपछि आइतबार प्रतिनिधिसभाको बैठक बस्नेछ ।
सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलका नेताहरुबीच शनिबार साँझ भएको वार्ताले सहकारी रकम अपचलन छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति जुटाएको थियो, तर उक्त समितिको कार्यादेश के हुने भन्नेमा सहमति भइसकेको छैन ।