प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री ‘प्रचण्ड’ ले विश्वासको मत पाएका हुन् ।
मतदान प्रक्रियामा कुल १५८ सांसद सहभागी भएकोमा पक्षमा १५७ र विपक्षमा शून्य मत पर्यो । मत दिन्न भन्ने पक्षमा १ मत परेको सभामुखले जानकारी गराए । सभामुख घिमिरेले प्रधानमन्त्रीले राखेको विश्वास मत प्रस्ताव बहुमतले पारित भएको पनि घोषणा गरेका छन् ।
सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई एमाले, रास्वपा, नेकपा एकीकृत समाजवादी, जसपाको समर्थन छ ।नाराबाजी गरिरहेको नेपाली कांग्रेस, राप्रपा, जसपा नेपाल, लोसपा, राष्ट्रिय जनमोर्चासहितका प्रतिपक्षी दलहरू भने मतदान प्रक्रियामा सहभागी नै भएनन् ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले बेल घेराउ गरिरहेकै अवस्थामा सभामुखले विश्वासको मतको प्रक्रिया अगाडि बढाएका थिए ।