NRN
आईपीएलको १७ औँ संस्करणको पहिलो ‘क्वालिफायर’ खेल मंगलबार खेलिँदै

इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ संस्करणको पहिलो ‘क्वालिफायर’ खेल मंगलबार खेलिँदैछ । पहिलो ‘क्वालिफायर’ खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादको सामना गर्नेछ ।

खेल अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । पहिलो ‘क्वालिफायर’ खेलमा विजयी हुने टोली सिधै प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । पराजित टोलीले भने ‘एलिमिनेटर’ खेलको विजेतासँग दोस्रो ‘क्वालिफायर’ खेल खेल्नेछ ।

कोलकाता नाइट राइडर्स लिग चरणको खेलमा पहिलो हुँदै प्ले–अफ चरणमा प्रवेश गरेको हो । कोलकाताले खेलेको १४ मध्ये नौ खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको थियो । कोलकाताको दुई खेल भने अनिर्णीत रूपमा सकिएको थियो ।

यसैगरी हैदराबाद लिग चरणमा १७ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा रहेर प्ले–अफ चरणमा प्रवेश गरेको हो । हैदराबादले लिग चरणमा खेलेको १४ मध्ये आठ खेलमा जित र पाँच खेलमा हारको नतिजा निकाल्यो । हैदराबादको एक खेल भने अनिर्णीत रूपमा सकिएको थियो ।

आईपीएलको इतिहासमा कोलकाताले आठौँ र हैदराबादले सातौँ पटक प्ले–अफ चरणमा स्थान बनाएका हुन् । आईपीएलको पहिलो क्वालिफायरमा यी दुई टोली पहिलो पटक भिडन्त गर्न लागेका हुन् ।

कोलकाता नाइट राइडर्स : श्रेयष ऐयर (कप्तान), सुनिल नारिन, रहमानुल्लाह गुरबाज (विकेटकिपर), अंगकृष रघुवंशी, वेंकटेश ऐयर, आन्द्रे रसेल, रिंकु सिंह, मिचेल स्टार्क, हर्षित राणा, वैभव अरोड र वरुण चक्रवर्ती । इम्प्याक्ट प्लेयर : रमनदीप सिंह ।

सनराइजर्स हैदराबाद : प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, अभिषेक शर्मा, राहुल त्रिपाठी, नितिश कुमार रेड्डी, हेनरिच क्लासन (विकेटकिपर), अब्दुल समाद, शाहबाज अहमद, भुवनेश्वर कुमार, टी. नटराजन र मयंक मारकंडे÷विजयकान्त वियषकान्त । इम्प्याक्ट प्लेयर : जयदेब उनादकट ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update