NRN
मर्यादाक्रम र आशन ग्रहणको शासकीय असर ।

पद मर्यादा होइन । मान मात्र हो । मानको इज्जत राख्नु मर्यादा हो । पदीय व्यक्तिको अनुशासनले पदको मर्यादा राख्छ । मर्यादा शब्दले अनुशासित, नैतिक, सम्मानयुक्त, दृण सङ्कल्पित इत्यादि व्यक्तित्वको उपनामलाई जनाउँछ । पदीय मर्यादा औपचारिकता मात्र हो । यही औपचारिकताभित्र हाम्रो मर्यादाक्रम तयार भएको छ । सम्मानयुक्त व्यक्तित्वको मर्यादाक्रम शासकीय परिधिभन्दा प्राय बाहिर रहन्छ । महावीर पुन, सन्दुक्र रुइत जस्ताको मर्यादाक्रम अङ्कमा निर्धारण गरिँदैन । तर ती व्यक्तित्व जहाँ पनि प्रमुख अतिथिको रुपमा रहिरहन्छन् । यो पदले होइन, व्यक्तित्वले निर्धारण गरेको मर्यादा हो । मर्यादित व्यक्तित्वहरू मर्यादाक्रममा बस्न रुचाउँदैनन् । उनीहरु प्राय समानताको खोजी गर्छन् । जो मर्यादामा रहँदैनन् उनीहरू प्राय मर्यादाक्रमको ख्याल, गर्छन् । यो असली व्यक्तित्व लुकाउने ठाउँ हो । मर्यादाक्रमको उच्च पदमा व्यक्तित्व गुम हुन्छ । व्यक्तित्व र मर्यादा घुलनशील भएमा त्यो पद मर्यादित हुन्छ । यो सरल अर्थलाई बुझ्न नेपालका शासक प्रशासक र राजनीतिज्ञलाई केही कसरत गर्नु पर्दैन । पालना मात्र गरिदिए पुग्छ ।

हामीले सम्माननीय राष्ट्रपति देखि वडाध्यक्षसम्मको मर्यादाक्रम तयार गरेका छौं । शासनभित्र अनुशासन राख्न मर्यादाक्रम चाहिन्छ । मर्यादाक्रम पदको गरिमा हो । पदले लिनुपर्ने उत्तरदायित्व र जिम्मेवारी हो । आफूभन्दा माथिल्लो पदमा निर्धारण गर्ने संस्कार हो । यो संस्कारले राजनीति, समाज, प्रशासनमा संस्कृतिको निर्माण गर्छ । त्यो संस्कृति जति सुसंस्कृत हुँदै जान्छ त्यति देश विकसित हुन्छ । जति पद र यसको औपचारिकतामा सीमित हुन्छ । त्यति नै ती देशहरू अविकसित हुन्छन । मानक खोज्न धेरै विश्लेषण गर्नु पर्दैन । हाम्रै भित्रको मर्यादाक्रमको आचरण, व्यवहार र उपयोगलाई हेरे पुग्छ ।

हाम्रा उद्घाटनदेखि समापनसम्म कार्यक्रममा मर्यादाक्रम र आसन ग्रहणले आधा समय लिन्छ । मर्यादाक्रम नमिलाई आसन ग्रहण गरेमा कुटाकुट भएका थुप्रै घटना पढ्न पाइन्छ । यस्ता घटना प्राय मनोरञ्जात्मक हुन्छन् । स्व घोषित मर्यादा खोज्नेको कारणले कहिलेकाहीँ कार्यक्रम नै स्थगित गर्नुपर्ने स्थिति पनि आउँछ । आसन ग्रहणमा नाम नबोलाउँदा कार्यक्रम नै छोडेर हिँड्ने वक्ता हरुको दुःख सुनेर साध्य छैन । शुभकामना मन्तव्यमा ड्यासमा आसिनहरूको पद र मर्यादाक्रमकाे वाचनले आधा समय लिन्छ । सबैलाई पदअनुसारको सम्मान दिनैपर्यो । कसैको छुटेमा क्षमा समेत माग्नुपर्ने हुन सक्छ । यो औपचारिकतामा नरमाउने वर्ग राजनीति र प्रशासनमा प्राय कमै छन् । यसले शासकीय क्षेत्रमा व्यक्तित्व टक्रराउ, असहयोग, असहभागिता बढाएको छ । यो मनोवैज्ञानिक स्तरको असमानता हो । यो बाहिर देखिँदैन तर नतिजामा प्रष्ट छ । राजनीति नेतृत्व, निर्वाचित प्रतिनिधित्व भन्दा प्रशासकीय नेतृत्वलाई मर्यादा क्रममा तल राखिएको छ । यो गलत होइन । तर हाम्राे मा मर्यादाक्रम र आसन ग्रहणको प्रयोग गलत ढङ्गबाट भएको छ ।

हाम्रा प्रशासकीय नेतृत्व स्वयं मर्यादाक्रममा छन् । विषयगत ऐन कानुनहरूले स्पष्ट उत्तरदायित्व र जिम्मेवारी तोकेका छन् । निर्णय प्रक्रिया पदीय मर्यादा क्रमभन्दा बाहिर हुनै सक्दैन । भएमा कानुनी चुनौती हुन्छ । कुनै पनि निर्णयहरू कसले गर्ने भन्ने अन्योलता मन्त्रालयदेखि स्थानीय तहसम्म छैन । संविधानले सम्माननीय राष्ट्रपति देखि सर्वोच्च अदालत र संवैधानिक निकायहरूको मर्यादाक्रम स्पष्ट पारेको छ । यो मर्यादाक्रम पदमा होइन, उत्तरदायित्व र जिम्मेवारीका आधारमा कानुनले तोकेको छ । पद त संगठनात्मक स्वरूप मात्र हो । हेन्री फेवलका अनुसार नियन्त्रण, अनुशासन, पदसोपान, वृत्तिविकासका विषयलाई सहज गर्न संगठनमा पदको संरचना निर्धारण गरिन्छ । समग्र देशको शासन व्यवस्था एउटा संगठन हो । यसभित्र पदहरू क्रमागत रूपमा रहन्छन् । तर यो औपचारिकतालाई हामीले आसन आसन ग्रहणमा जोडेर मनोवैज्ञानिक विभेदको सिर्जना गरेका छौ । यसले सूक्ष्म र बृहत दुवै रुपमा सुशासनमा असर गरेको छ । यसको विश्लेषण कतैबाट भएको देखिँदैन ।

सुशासन जनमुखी भएका देशहरूमा आशन ग्रहणको तरिकै छुट्टै छ । मुख्य व्यक्तित्व र उद्घोषक ड्यासमा देखिन्छन् । अरु सबै श्रोता र दर्शक दीर्घामा रमाउँछन् । भाषणमा सम्मानित व्यक्तित्वलाई सम्बोधन गरी बाँकी "लेडिज एण्ड जेन्टलमेन" बाट मुख्य वक्तव्य सुरु हुन्छ । यसले कसैको मर्यादा तोड्दैन । कसैको मर्यादाक्रम भङ्ग हुँदैन । वक्ताहरु कोही छन् भने दर्शक दिर्घाबाटै बोलाइन्छ । यी कार्यक्रमहरू सहज हुन्छन् । प्राय कार्यक्रममा विज्ञहरूको धारणा सुनिन्छ । र राजनीति व्यक्तिहरूले यही धारणामा राजनीति गर्न सक्छन् । प्रशासकहरुले विज्ञको धारणालाई नीतिमा परिणत गर्छन् । र कार्यक्रमको महत्व र गहिराई हुन्छ । त्यहाँ विज्ञ र विशिष्ट व्यक्तिले कस्तो फरक विचार राख्छन् भन्ने कुरामा बढी चासो दिइन्छ । राजनीतिक नेतृत्वले समेत प्रशासकीय विश्लेषण गर्छन् र नतिजाको परिकल्पना गर्छन् । त्यस्ता कार्यक्रममा मर्यादा र रोलक्रमको ख्याल हुँदैन । कार्यालयदेखि रेस्टुरेन्टसम्म त्यहाँ कतै असमानता पाइँदैन ।

हाम्रोमा विषय विज्ञ प्राय ड्यासमा देखिँदैनन् । प्राय सबैका विचार एउटै हुन्छन् तर बोल्नै पर्ने हुन्छ । जो आफैँलाई विज्ञ ठान्छन् ।भरिभराउ ड्यासका सबैले आफ्नो विचार राख्दा समय कहिल्यै पालना हुँदैन । हामी पनि संगठनको मुख्य वा कुनै सम्मानित व्यक्तित्वलाई ड्यासमा राखेर बाँकी सबैलाई श्रोता दीर्घामा राख्न सक्छौँ । "उपस्थित सज्जन वृन्द," भनेर सम्बोधन गर्न सक्छौं । यो अति सरल र सम्मानित सम्बोधन हाे । ड्यासमा भन्दा श्रोता दीर्घाबाट विचारको राम्रो सम्प्रेषण हुन्छ । तर पदीयहरूलाई माथिल्लो दीर्घामा बसेर आफ्नो व्यक्तित्व छुपाउनु छ । प्राय समयको अभावले विशिष्टहरु पहिले नै बोलेर हिँडिदिन्छन् । विचार सुन्न र विश्लेषण गर्न धैर्यता चाहिन्छ । त्यो खल्लोपनालाई पछि सम्मका श्रोताहरुले सुनिरहनुपर्छ । यो कार्यक्रमको औपचारिकताले ठूलो अनौपचारिक विचार पैदा गरिराखेको छ । मर्यादाक्रमलाई पदले सम्बोधन गर्दा राजनीतिक र प्रशासनिक पदहरूमा योग्यताको अनादर भएको प्रशासकहरू बताउँछन् । योग्यताक्रम ,मर्यादाक्रम चाहिन्छ । यो कानूनी औपचारिकतामा सीमित हुनुपर्छ । हाम्रोमाआसनग्रहणको प्रयोगलाई मर्यादित, सरल र संक्षिप्त बनाउनु बुद्धिमानी हो । यो सानो सुधारले थोरै भएपनि जनस्तरमा नेतृत्वको प्रशंसा बढाउँछ । र सबै पदहरूमा समभाव पैदा हुन थाल्छ । क्रमश पदीय विभेद अन्त्य हुँदै जान्छ । बल्ल हामी शासकीय समानतामा पुग्छौं ।

(लेखक तथा सहसचिव कुमार दाहालकाे फेसबुकबाट साभार...............)

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update