NRN
त्यसैले अनमोल केसीको कुरा काँटौं ….॥

- राजन घिमिरे

जसले जति खोके पनि, जसले जति गफ लगाएता पनि र जसले जति हौवा पिटाएता पनि पछिल्लो समय यूबा पुस्ताका दर्शकहरूलाई नेपाली चलचित्रप्रति आकर्षित गर्न, नेपाली सिनेमा हेर्न हलतिर तान्न र त्यो पुस्ता मांझ नेपाली चलचित्रको बारेमा चर्चा पुर्याउंन अनमोल केसीको भूमिका अनि उपस्थितिले महत्वपूर्ण भूमिका खेलेको छ भन्दा धक मानिरहनु पर्ने अबस्था छैन ।

यो कुरा अकाट्य छ कि चलचित्र होस्टेल मार्फत जब नेपाली चलचित्र क्षेत्रमा अनमोलको प्रबेश भयो, त्यो समयदेखी नै यूबा केन्द्रित सिनेमा निर्माणमा बाढी आएको पाईन्छ । एउटा अनुहारको प्रबेशले समग्र बिधा वा क्षेत्रमा कति प्रभाब पर्दों रहेछ भन्ने कुराको उदाहरण हुन् अनमोल केसी । हुन त, अनमोल आउनु अघि र अनमोल आएपछी पनि नेपाली सिनेमा बिधाले आफ्नो उपस्थिति बलियो बनाएकै हो र अहिले पनि बनाईरहेकै छ । तर नेपाली सिनेमा भनेपछी नाक खुम्चाउंने अनि नेपाली सिनेमाप्रति पोजेटिब हुन नचाहिरेका पुस्तालाई अनमोलसँगै नेपाली सिनेमा बृत्तमा प्रबेश गरेका यूबाहरूले जून भूमिका निभाए त्यसको अब मूल्यन कदापी गर्नु हुन्न ।

सिमित बर्ग, तह , तप्का र क्षेत्रमा घुमिरहेको नेपाली चलचित्रको बजारलाई अनमोलको प्रबेशले देशमा मात्र फराकिलो पारेन कि बिदेशमा पनि नेपाली चलचित्रको क्रेजसँगै बजार पनि बढायो । हिरोको चार्म, स्टाईल अनि क्रेजको पराकास्टा कतिसम्म हुन्छ भन्ने ज्वलन्त उदाहरण बने अनमोल केसी र आज दश बर्षसम्म पनि बनिरहेका छन् । हिरोले सिनेमाको पर्दामा मात्र होइन कि पर्दा बाहिर पनि हिरोइज्जम देखाउन सक्नु पर्छ भन्ने उदाहरण पनि समय समयमा पेश गर्ने गरेका छन् उनले ।

त्यसो त, सिनेमाको पर्दामा मात्र ह्रिरो लाग्दैनन्, होइनन् र बुझिंदैनन् अनमोल केसी । आचरण, भद्रता अनि शालिनता जस्ता बिशेषताले पनि अनमोललाई सिनेमाको पर्दा बाहिर पनि हिरो बनाईरहेको छ । दश बर्षको यो यात्रामा अनमोल न कहिले बिबादमा आए न त उनी कसैको लागि बिबादको बिउ नै बने ? आफ्नो काम अनि आफ्नो ब्यक्तिगत आचरणमा मात्र ध्यान दिने उनी अरुको कुरा काट्ने, खिल्ली उडाउंने वा गाली गलौजमा उत्रने जस्ता तल्लो स्तरको ब्यबहार गर्न उनले कहिले सिकेनन् र गरेनन् पनि । एक चलचित्रको लफडामा प्रहरीको निगरानीमा पर्दा उनी आफूलाई जेलसम्म पुर्याउंन खोज्नेलाई आज पनि गाली गर्दैनन् बरू त्यो घटनालाई उनले नमिठो क्षणको रूपमा मात्र लिएर बिर्सिएका छन् ।

यही घटना अन्य कुनै हिरोलाई परेको भए कत्तिको मिडिया बाज्जी गर्थे होलान् ? कति गाली गलौजमा उत्रन्थे होलान् तर अनमोल चुपचाप नै रहे अनि आफ्नो काममा यात्रा बढाई रहे । उनले बुझेका छन् कि मौनता नै जित र सफलता हो । भद्रता, शालिनता र मिजासिलो ब्यबहार अनमोललाई सिनेमा बाहिर पनि हिरो बनाउंने कडि साबित भएका छन् । उनको यो बिशेषता र पहिचान नै अनमोललाई अनमोल बनाउने मुख्य सुत्र साबित भएको छ ।

उनि समूहमा बसेर अरूको कुरा काट्दैनन् , खिल्ली उडाउंदैनन , अरूको कुभलो चाहंदैनन् , पार्टी या भोजमा गएर नाना थरी शब्द बोलेदैनन् अनि त्यो यस्तो र उ त्यस्तो भन्दैनन् । कामसँग मात्र मतलब राख्छन् र कर्म गर्दै अगाडि बढिरहेका छन् । यस्तो हुंदा हुंदै पनि अनमोलको बारेमा कुरा काटेने वा उनलाई बिभिन्न आरोप लगाएर उनको खिल्ली उडाउंनेहरूको जमात पनि यहां नभएको होइन । त्यसैले त्यो जमात भन्छ -‘ हामीसँग बस्न नहुंने , कुरा गर्न नहुने , जांड खाएर अरूको कुरा काट्न नहुने , हल्ला गरेर समाजमा तमासा देखाउंन नहुने । हामीले बोलाउंदा नआउंने त्यस्ता अनमोल केसी हामीलाई के काम…-‘ ? यसको जवाफमा यो पंक्तिकार भन्छ-‘ कसैको कुभलो नचिताउंने , सबैलाई सम्मान गर्ने , आफ्नो काममा मात्र ध्यान दिने , रक्सी आफू पनि नखाने र अरूलाई पनि नखुवाउंने अनि शालिन. भद्र र मिजासिलो मात्र बन्ने यस्ता अनमोल केसीको बारेमा आउनुस फर्की फर्की कुरा काटौं…-‘ ।

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update