NRN
सहकारीसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक आज बस्दै

सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बस्दैछ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आज दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

सत्ता पक्ष र प्रतिपक्ष दलका प्रतिनिधिहरुबीच कार्यादेशमा सहमति नजुट्दा अघिल्ला बैठक निष्कर्षविहीन हुँदै आएका छन् ।आजको बैठकमा सत्ता पक्षबाट कांग्रेसले माग गरेको विषयहरुमा एउटा मस्यौदाको ड्राफ्ट प्रश्तुत गर्ने र त्यसमा काँग्रेसले सहमति जनाए कार्यादेश टुंगो लाग्ने बताइएको छ ।

यदी सहमति जुट्न नसके कार्यादेश टुंगो लाग्ने छैन । कार्यदलमा नेकपा एमालेबाट पदम गिरी र महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपा नेता शिशिर खनाल छन्  ।

नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरी उनी मुछिएको सहकारी संस्थामा पनि संसदीय समितिले छानबिन गर्नुपर्ने अडान राख्दै आएको छ भने एमाले र रास्वपा त्यो कुरामा सहमत भएनन् । गत आइतबार पनि यही विषयमा विवाद हुँदा कार्यदलको बैठक निष्कर्षविहीन भएको थियो ।

कार्यदलले कार्यादेश टुंगो लगाउन नसक्दा संसदीय छानबिन समिति गठन पनि अनिश्चित बनेको छ । संसदीय समिति गठन नहुँदा संसदको गतिरोध पनि अन्त्य हुन सकेको छैन ।

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update