NRN
बेलायतका प्रधानमन्त्री सुनकले गरे निर्वाचनको मिति घाेषणा

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा आमनिर्वाचन हुने घोषणा गरेका छन् । बुधबार प्रधानमन्त्री सुनकले संसद भंग गर्ने सिफारिस राजाले स्वीकृत गरेको बताउँदै आगामी जुलाई ४ मा आमनिर्वाचनको घोषणा गरेका हुन् ।

प्रधानमन्त्री सुनकले  चुनाव मिति घाेषणा गर्दै  बेलायतीहरूले भोटमा आफ्नो भविष्य रोज्न सक्षम हुने अभिव्यक्ति दिएका छन् । 

बेलायतको सत्तारुढ कन्जरभेटिभ्स पार्टीका सांसदहरूले प्रधानमन्त्री सुनकलाई हटाउन खोजेपछि उनले निर्वाचनको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

सञ्चारमाध्यमका अनुसार संसद  शुक्रबार विघटन हुनेछ ।  संसदको पहिलो बैठक बसेको पाँचौं वर्ष पूरा भएपछि मात्र संसद विघटन हुनुपर्ने व्यवस्था छ ।

यदि तोकिएको प्रक्रिया अपनाएको भए बेलायतमा २८ जनवरी २०२५ अघि चुनाव भइसकेको हुन्थ्यो । तर सत्तारुढ दलमा रहेको विवादका बीचमा सुनक निर्वाचनमा गएको बताइएको छ ।  हालका प्रधानमन्त्री रहेका सुनक भारतीय मुलका नागरिक हुन् ।

 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update