NRN
अष्ट्रेलिया र न्यूजल्याण्डमा क्रेज बढाउंदै चलचित्र फर्की फर्की….( तस्बिरहरू सहित )

- राजन घिमिरे

बिदेशका सुबिधा सम्पन्न सिनेमा घरमा बिदेशी चलचित्रको पोस्टर देख्दा वा बिदेशी चलचित्र हेर्न जांदा प्रबासी नेपालीहरूको मनमा सधैं एउटा प्रश्न उब्जिरह्यो, यसैगरी बिदेशका यस्तो हलमा नेपाली सिनेमाहरूले नियमित शो कहिले हुने होला..? मन लागेको समयमा नेपाली सिनेमा हेर्न कहिले पाईंने होला ?

लामो समयदेखी प्रबासी नेपालीहरूको मन र दिमागमा रहेको यस्तो प्रश्नले अहिले आएर भने जवाफ पाएको छ । अष्ट्रेलियाको सिड्नीमा रहेका नमस्ते इन्टरटेनमेन्टका देब कार्कीको अग्रसरतामा सन् २०२२ देखी निरन्तर रूपमा अष्ट्रेलिया र न्यूजल्याण्डका सुबिधा सम्पन्न हलहरूमा नेपाली चलचित्रहरू नियमित रूपमा बक्स अफिसमा नै रिलिज हुन थालेपछी एकातिर बिदेशीको नजरमा पनि नेपाली सिनेमाप्रतिको सोचमा परिवर्तन आएको छ भने प्रबासमा रहनु हुने नेपाली चलचित्रप्रेमी दर्शकहरूले पनि आफूलाई पाएक परेको हल र समयमा नेपाली चलचित्र हेर्न पाउंनु भएको छ -‘ सिमित दिन र बार मात्र नेपाली चलचित्र लाग्दा त्यो दिन मिलेन भने चलचित्र नै छुट्ने डर हुन्थ्यो तर, बक्स अफिसमा नियमित रिलिज हुंदा हामीले आफ्नो समय र सुबिधा अनुसार नेपाली सिनेमा हेर्न पाएका छौं । यो हाम्रो लागि खुशीको कुरा हो -‘ चलचित्र फर्की फर्की हरेर फर्किएका सिड्नीका अशोक पौडेलले खुशी ब्यक्त गरे ।

प्रसंग र कुरा चलचित्र फर्की फर्कीको हो । यो चलचित्र यतिबेला अष्ट्रेलिया र न्यूज़ल्याण्डमा बक्स अफिसमा रिलिज भएको छ भने सुबिधा सम्पन्न सिनेमा हलहरूमा यो चलचित्रले आफ्नो प्रदर्शनको साख, गरिमा र यात्रालाई अगाडि बढाई रहेको जानकारी ब्ल्याक आइ क्रियसनका राजु कानले दिएका छन् । अष्ट्रेलिया र न्यूजल्याण्डमा चलचित्र फर्की फर्कीलाई बक्स अफिसमा रिलिज गर्ने चांजो पांजो र त्यो ब्यबस्थापन अष्ट्रेलियाको नमस्ते इन्टरटेनमेन्टका देब कार्कीले गरेका हुन् । बिदेशमा नेपाली चलचित्रको पहुंच यहांसम्म पुर्याउंन कार्कीले गरेको अथक मिहेनत र प्रयासले मुर्तरूप पाएको छ । नेपाली सिनेमालाई अष्ट्रेलिया र न्यूजल्याण्डका हलमा बक्स अफिसमा रिलिज गर्न सक्ने हैसियत राख्ने देब नै अष्ट्रेलियाका पहिलो नेपाली चलचित्र बितरक हुन् ।

-‘ चलचित्र फर्की फर्की नेपालसंगै अष्ट्रेलिया र न्यूजल्याण्डमा पनि एक साथ बक्स अफिसमा रिलिज भएको हो । आइतबारसम्मको आंकडा अनुसार यो चलचित्र यी दुई देशमा हजारौ नेपालीहरूले हेरिसक्नु भएको छ भने त्यो संख्या बढ्ने क्रममा रहेको छ -‘ कार्कीले अगाडि भने -‘ यो चलचित्रले अष्ट्रेलिया र न्यूजल्याण्ड गरेर पैंतालीस भन्दा बढी हलमा आइतबारसम्म पाँच सयभन्दा बढी पर्दा पाएको छ । यहां यति धेरै शोहरू पाउंने फर्की फर्की नै पहिलो चलचित्र हो -‘ उनको दाबी छ ।

दिन प्रतिदिन शोहरू बढ्नु र चलचित्र फर्की फर्कीप्रति नेपालीहरूको चासो जागेको देख्दा अष्ट्रेलियामा फर्की फर्की चलचित्रले प्रदर्शनको लामो यात्रा पार गर्ने संकेत देखाएको छ । नयां बिषय र अनमोल केसीको क्रेज नै चलचित्र फर्की फर्कीको सफलताको रहस्य साबित भएको बिचार अष्ट्रेलिया र न्यूजल्याण्डका नेपाली दर्शकहरूले पोखेको जानकारी नमस्ते इन्टरटेनमेन्टका देब कार्कीले दिए । बिगतमा अष्ट्रेलिया र न्यूजल्याण्डमा प्रदर्शनमा आएका अघिल्ला चलचित्रहरूको दांजोमा कमाई, प्रदर्शन र दर्शकहरूको चापलाई मूल्यांकन गर्ने हो भने फर्की फर्कीले नयां रेकर्ड राखेको छ । यसरी अष्ट्रेलियाको नमस्ते इन्टरटेनमेन्टसंग चलचित्र फर्की फर्कीका निर्माता रोहित अधिकारीको समन्वयमा अष्ट्रेलिया र न्यूजल्याण्डका हलमा बक्स अफिसमा यो चलचित्र रिलिज हुंदा फर्की फर्कीले पाएको शान. मान र वाहवाही साच्चै गौरब गर्न लायकको बिषय बनेको छ । आगामी दिनमा पनि कार्की र अधिकारीको यो सक्रियताको अन्य चलचित्र निर्माताहरूले पनि अनुशरण गर्नु आबश्यक देखिएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update