संसदको गतिरोध अन्त्यका लागि बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरूको बैठक आज पनि निष्कर्ष विहीन भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले अलग अलग र संयुक्त छलफल गरेका थिए । तर सहमति नजुटेपछि आजै साँझ फेरि छलफल गर्ने भन्दै नेताहरु उठेका छन् ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय सभा दलका नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए ।
त्यस्तै, कांग्रेसबाट सांसद ज्ञानेन्द्रबहादुर कार्की कार्यदलका सदस्य जीवन परियार, नेकपा (एमाले)बाट कानून मन्त्री पदम गिरी, प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रबाट अर्थमन्त्री वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति स्वर्णीम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार लगायत सहभागी थिए।
सत्तापक्ष र प्रमुख प्रतिपक्षका बीचमा सहकारीको बचत अपचलनमा संसदीय छानबिन समिति गठन गर्ने सैद्धान्तिक सहमति जुटिसकेको छ । कार्यादेशमा भने कुरा मिलेको छैन ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको बचत हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै संलग्न रहेको भन्दै उनको नाम तोकेर समिति बनाउनुपर्ने अडान राख्दै आएको छ । सत्तापक्ष भने समिति बन्नुअगावै व्यक्तिलाई दोषी किटान हुनेगरी नाम उल्लेख गर्न नहुने अडानमा छ ।