NRN
‘फर्की फर्की’ सँगै जापान जाँदै अनमोल

- राजन घिमिरे

बुद्ध जयन्तीको अवसर पारेर गत जेठ १० गतेबाट रिलिज भएको फिल्म ‘फर्की फर्की’ले नेपालसँगै डायस्पोरामा समेत राम्रो व्यापार गरिरहेको छ । अस्ट्रेलिया र न्युजिल्यान्डमा तीन दिनमा बक्सअफिसमा एक करोड बढीको ग्रस कलेक्सन गर्न सफल चलचित्रको जापानमा हुने शोमा अभिनेता अनमोल केसी सहभागी हुने भएका छन् ।

निर्माता रोहित अधिकारीले आगामी जुन ९ तारिखका दिन टोक्योस्थित नाकानो जिरो हलमा अनमोलको उपस्थितिमा ‘रेड कार्पेट प्रिमियर’ हुने जानकारी दिएका छन् । यो चलचित्रको जापान प्रदर्शनको अधिकार सुभाष लामिछानेले लिएका हुन् । लामिछानेले यस अघि पनि हिट नेपाली चलचित्रहरूको जापानमा प्रदर्शन गर्दै आइरहेका छन् । जापानमा फर्की - फर्कीको प्रदर्शनलाई भव्य र सभ्य बनाउन प्रदर्शकले प्रचार - प्रसार सुरू गरिसकेका छन् । त्यहाँ तीन हजार ऐन टिकेट राखिएको छ भने विद्यार्थीलाई पच्चीस सय ऐन राखिएको छ ।

लामिछानेले अनमोलको जापानमा अत्याधिक माग रहेको र आगामी जुन ९ मा हुने शोमा पन्ध्रसय बढी दर्शक आउने विश्वास व्यक्त गरे -‘ अनमोलको यहाँ माग धेरै छ । फिल्मको प्रिमियरलाई सभ्य र भव्य बनाउन हामीले तयारी थालिसकेका छौँ । नेपालीसँगै अन्यले पनि नेपाली फिल्मको विषयमा जानकारी पाउने गरी इभेन्ट गर्ने तयारीमा छौँ’, वितरक लामिछानेले भने ।

रोहित अधिकारीको निर्माण र सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘फर्की फर्की’मा अनमोल केसी, जसिता गुरुङ, निर्मल शर्मा, लोकेन्द्र लेखक, सलोन बस्नेत, रवि काफ्ले र समृद्धि अर्याललगायतको अभिनय छ ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  २०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update