रवि लामिछानेलाई उपप्रधान एवं गृहमन्त्रीबाट निलम्बन गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर रिटको पेसी बुधबारका लागि स्थगित भएको छ ।
निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगन गर्न निवेदन दिएकाले आज सुनुवाइ स्थगित भएको हो । लामिछानेलाई निलम्बन गर्नुपर्नेसहितको माग राखिएको रिट सोमबार सर्वोच्चमा दर्ता भएको थियो ।
रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा १० औँ नम्बरमा थियो । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले रिट दर्ता गर्ने आदेश गरेको थियो । उक्त आदेशपछि दर्ता भएको रिट पोखरेलको इजलासमा परेको थियो ।
महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा क्लिन चिट दिएको देखिने गरी कुनै पनि उजुरी र अनुसन्धान नभएको भनी पत्र दिएपछि त्यसविरुद्ध भट्टराईले रिट दर्ता गराएका थिए ।