अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट आशा जगाउने खालको आएको बताएका छन् । बुधबार पोस्ट बजेट अन्तर्क्रियामा अर्थमन्त्री पुनले वर्तमान आर्थिक शिथिलताको अवस्थामा आशा जगाउने खालको बजेट आएको बताएका हुन् ।
‘बजेट सार्वजनिक हुनु अगाडि विभिन्न कारण दबाबमा थियौं, आज रिल्याक्स मुडमा छौं । प्रतिक्रिया पनि सन्तुलित नै आएको छ, जसले गर्दा हामी खुसी छौं,’ अर्थमन्त्री पुनले भने, ‘सरोकारवालासँग संवाद गरेर सकेसम्म सकारात्मक दृष्टिले काम गर्छौं भनेका थियौं । हतपतमा केही मान्छेको कुरा सुनेर करका दर परिवर्तन गरिएको छैन । केही इरर हुन सक्छ । सरकारका तर्फबाट सक्नेजति राम्रो गर्ने प्रयास गरेका छौं ।’
चालु आवको प्रक्षेपण नमिलेको अवस्थामा वस्तुपरक बनाउने प्रयास यसपटक भएको उनले बताए ।
बजेटले आम जनतामा आशा जगाउने प्रयास गरिएको बताउँदै उनले भने, ‘देशभित्रै अवसरको खोजी गर्ने, युवाको निराशा हटाउने प्रयास गरेका छौं । अर्थतन्त्रको संरचनामा सुधार ल्याउने कोसिस गरेका छौं,’ उनले भने, ‘हाम्रो कोसिस नयाँ चरणको सुधारको प्रयास हो । हाम्रो भौगोलिक स्थिति सुहाउँदो अर्थतन्त्र बनाउने प्रयत्न यसपटक गरिएको छ ।’
अर्थमन्त्री पुनले निजी क्षेत्र साथमा लिएर मनोबल बढाउने कोसिस गरिएको बताए ।
उनका अनुसार जुन प्रदेशको विशेषता छ, सोही क्षेत्रका उत्पादनको हब बनाउने प्रयास गरिएको । त्यहाँ अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी केन्द्रित हुनेछ । अध्ययन, तालिम त्यहाँ केन्द्रित हुनेछन् । साथै, स्थानीय तहका हरेक पालिकाका केन्द्रलाई आर्थिक केन्द्रका रूपमा विकास गर्न खोजिएको छ । रोजगारी अब स्थानीय तहमै सिर्जना हुनुपर्छ भन्ने कोसिस गरिएको छ ।