NRN
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दल नेता सुरेन्द्रराज पाण्डे नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दल नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेशपछि बुधबार दिउँसो पाण्डे दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका हुन् ।

संविधानको धारा १६८ उपधारा ३ अनुसार प्रदेश सभाका सबैभन्दा ठूलो संसदीय दलका नेताका हैसियतमा पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन् ।

सर्वोच्च अदालतले ४८ घण्टाभित्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी गरेको थियो । संविधानको धारा १६८ उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त भएका नेकपा (एमाले) संसदीय दल नेता खगराज अधिकारीले विश्वासको मत पाउन नसकेको ठहर गर्दै सर्वोच्चले पाण्डेलाई सोही धाराको उपधरा ३ अनुसार मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

पाण्डे यसअघि २०८० वैशाख १४ गते पहिलो पटक गण्डकीको मुख्यमन्त्री नियुक्त भएका थिए । 

तत्कालीन सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका पाण्डेले गत चैत २१ गते राजीनामा दिएका थिए ।

नवनियुक्त मुख्यमन्त्री पाण्डेले संविधानको धाार १६८ उपधारा ४ अनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रवाधान छ ।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update