NRN
गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको रिट आज पनि न्यायाधीश पोखरेलकै इजलासमा

गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिट आज पनि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको छ । उक्त मुद्दा आज तेस्रो नम्बरमा पेशी रहेको छ ।

उक्त इजलासमा स्थगित गर्ने निवेदन दिएर हटाइएको थियो । तर बिहीबार पनि पोखरेलकै एकल इजलासमा पेशी तोकिएको हो ।

सहकारी ठगी प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले कुनै जिल्लामा अभियोग र अनुसन्धान नभएको भनी क्लिनचिटको अर्थ लगाउन मिल्ने पत्र दिएपछि त्यस विरुद्ध रिट दायर भएको थियो ।

अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको उक्त रिट सुरुमा दरपिठ भएको थियो । सर्वोच्च प्रशासनले दरपिठ गरेपछि भट्टराईले इजलासमा पुगेर दरपिठ बदर गराएका थिए । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले दर्ता गर्नु भनी आदेश गरेपछि जेठ १४ गते रिट दर्ता गरेका थिए ।

रिटमा गृहमन्त्रीमाथि ठगीको आरोप लागेकाले निलम्बन गर्नुपर्ने माग गरिएको छ । त्यस्तै विभिन्न जिल्लामा ठगीको अभियोग पत्रमा नाम उल्लेख भएको र कास्की जिल्ला प्रहरी कार्यालयमा जाहेरी नै रहेको अवस्थामा महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग गरेर क्लिनचिटको पत्र लेखाइएकाले गृहमन्त्री पदमा नैतिक रूपमा बस्न नमिल्ने जिकिर रिटमा गरिएको छ । रिटमा महान्यायाधिवक्ता दिनमणि पोखरेललाई पनि विपक्षी बनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update